म्याग्दी । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला छन् । ‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौंसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन–काठमाडौं सडकमा पहिरो लगायतका कारण पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन लामाले बताए । ‘चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यसपालि पाहुनाको आगमन २० वर्षयताकै कम भएको छ’, उनले भने, ‘होटल र पर्यटकीयस्थल सुनसान छन् ।’
विगतका वर्षमा असोज लागेसँगै मुस्ताङ जाने–आउने पर्यटक र तीर्थयात्रीले बेनी, गलेश्वर, भुरुङ–तातोपानी, दानाका होटल भरिभराउ हुन्थे । घटस्थापनाअघि सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिने र मुक्तिनाथ दर्शनका लागि नेपाल तथा भारतबाट आएका तीर्थयात्रीको घुइँचो लाग्दथ्यो । सोह्रश्राद्धको समयमा पनि यसपालि कागबेनी र मुक्तिनाथमा तीर्थयात्राका लागि आउनेहरूको संख्या न्यून भएको स्थानीय बताउँछन् ।
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी–पुनहिल क्षेत्रमा आउने पर्यटक फाट्टफुट्टमात्र देखिएका स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताए । ‘मेरो होटलमा बास बस्न आउने भनेका ३६ विदेशी पर्यटकको समूहले देशको असहज अवस्थालाई कारण देखाएर बुकिङ रद्द गरेका छन्’, उनले भने, ‘विदेशी पर्यटक आगमन विगतको तुलनामा एकतिहाइ पनि छैन । स्वदेशी पनि आएका छैनन् ।’ घोडेपानीमा बास बसेका पर्यटक त्यहाँबाट ३० मिनेट उकालो पैदलयात्रा गरेपछि समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा पुग्छन् । पुनहिलबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको अवलोकन गर्न पाइन्छ । असोज–कात्तिकको शरदयाममा यहाँ तीन सय जनाको हाराहारीमा विदेशी र त्यत्तिकै संख्यामा स्वदेशी पर्यटक आउने गर्दथे ।
म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीमा दैनिक एक हजार जना क्षमताको २५ वटा सुविधायुक्त होटल छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घोडेपानी जोड्ने चित्रे–घोडेपानी सडक स्तरोन्नतिका क्रममा रहेको हुँदा सवारीसाधनको असहजताका कारण आन्तरिक पर्यटकलाई समस्या भएको छ । बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ तातोपानी कुण्ड पनि सुनसान छ ।
जमिनमुनिबाट ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी संकलन गरिएको सिङ्गा तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलका रूपमा परिचित छ । भुरुङ–तातोपानी बेनी–जोमसोम सडक भएर मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि थकाइ मेटाउने थलो हो ।